मध्यपूर्वमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र सचिव राई
काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व)मा पछिल्लो समय देखिएको सुरक्षा चुनौतीका बीच त्यहाँ रहेका नेपाली नागरिकको अवस्थाबारे नेपाल सरकार सतर्क रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले क्षेत्रको विकसित घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको र हालसम्म त्यहाँ रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पश्चिम एसियामा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था हालसम्म नदेखिएको स्पष्ट पारे।
उनका अनुसार परराष्ट्र मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको छ। क्षेत्रको सुरक्षा अवस्थाबारे निरन्तर जानकारी लिँदै आवश्यक तयारीसमेत भइरहेको उनले बताए।
सचिव राईका अनुसार सरकारले गठन गरेको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ले बैठकमार्फत गरेका निर्णयहरू सम्बन्धित देशहरूमा रहेका नेपाली दूतावास तथा नियोगमार्फत कार्यान्वयन भइरहेको छ। ती नियोगहरूले त्यहाँ रहेका नेपाली नागरिकको अवस्था र सुरक्षाबारे निरन्तर निगरानी गरिरहेका छन्।
'अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार तत्कालै हाम्रा नेपाली नागरिकहरूलाई सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन,' सचिव राईले भने, 'नेपालमा रहनुभएका परिवारजन र पश्चिम एसियामा बस्ने नेपालीहरूलाई विचलित वा चिन्तित नहुन म हार्दिक आग्रह गर्दछु।'
यसैबीच नेपालले अन्य श्रम गन्तव्य मुलुकहरूसँग पनि समन्वय बढाएको जनाएको छ। भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका लगायतका धेरै श्रमिक पठाउने देशका दूतावास तथा मिसनहरूसँग नेपाली राजदूत र कन्सुल जनरलहरूले दैनिक रूपमा समन्वय गरिरहेको पनि उनले जानकारी दिए।
पश्चिम एसियामा विकसित सुरक्षा परिस्थितिका कारण त्यहाँ कार्यरत नेपाली नागरिकको अवस्थाबारे नेपाल सरकार सतर्कतापूर्वक निगरानी गरिरहेको र आवश्यक परे थप कदम चाल्ने तयारीसमेत गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।