नियमविपरीत गतिविधि नगर्न स्वास्थ्य संस्थाहरूलाई बीमा बोर्डको निर्देशन
काठमाडौँ : राष्ट्रिय बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा नियमविपरीत गतिविधि नगर्न स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ ।
बोर्डका अनुसार केही सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमित नागरिकलाई बीमा प्याकेजभित्र समावेश औषधि तथा औषधिजन्य सामग्री पनि आफ्नै संस्थाबाट वा बाह्य औषधि पसलबाट नगदमा खरिद गर्न लगाएको गुनासो प्राप्त भएको भन्दै यस्तो निर्देशन दिएको हो ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेण्ट तथा नीति योजना शाखा प्रमुख डा. पवनकुमार साहले यस्तो कार्य स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधिविपरीत भएको उल्लेख गरेका छन् ।
यस सन्दर्भमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई यस्ता गतिविधि नगर्न तथा प्रचलित ऐन, नियमावली, निर्देशिका र कार्यविधिको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
अनुगमनका क्रममा कुनै स्वास्थ्य संस्थाबाट नियमविपरीत कार्य भएको पुष्टि भएमा स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १९ को उपनियम १ को खण्ड क अनुसार कारबाही गरिने पनि बोर्डले जनाएको छ। दिएका हुन्।