भारतमा ग्यास सङकट टार्न नयाँ व्यवस्था, नेपालमा आपूर्ति व्यवस्था सहज बनाउन के गर्दैछ निगम ?
काठमाडौं। बजारमा खाना पकाउने एलपी ग्यास आपूर्ति व्यवस्था सहज र पारदर्शी बनाउन नेपाल आयाल निगमले निर्देशन दिएको छ । निगमले मङ्गलबार ग्यास उद्योगहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।
निगम र ग्यास उद्योगीहरूबीच भएको छलफलमा उद्योगीहरूले ग्यास आपूर्तिमा खास समस्या नरहेको तर वितरण प्रणालीमा सुधार आवश्यक रहेको निगमका प्रवक्ता मनोज ठाकुरले बताए ।
निगमले उद्योगहरूलाई तोकिएको क्षमताअनुसार ग्यास निरन्तर आयात गरी बजारमा पठाउन निर्देशन दिएको भए पनि बजारमा अभाव भने समाधान हुन सकेको देखिदैन ।
यससँगै अब उद्योगहरूले दैनिक रूपमा बिक्रेतालाई कति ग्यास पठाइयो भन्ने स्पष्ट विवरण निगममा बुझाउनु पर्ने भएको छ । त्यस्तै, बिक्रेताले पनि कसलाई कति ग्यास बिक्री गरे भन्ने विवरण फोननम्बरसहित अभिलेख राख्नुपर्ने निगमका प्रवक्ता ठाकुले जानकारी दिए ।
निगमले ग्यास वितरणका क्रममा घरायसी प्रयोजनलाई प्राथमिकतामा राख्न भनेको छ । व्यावसायिक प्रयोजनका लागि पठाइएको ग्यासको छुट्टै रेकर्ड राख्नुपर्ने व्यवस्था गरिएको उनले बताए छ।
छिमेकी मुलुक भारतमा आजदेखि घरायसी उपभोक्तालाई २५ दिनमा एउटा मात्र सिलिन्डर दिने नियम लागू गरेको छ । नेपालमा त्यस्तो अवस्था नरहेको निगमको भनाइ छ ।
नेपालको वार्षिक ग्यास खपत भारतको एक दिनको खपत बराबर मात्रै भएकाले आपूर्तिमा समस्या नभएको तर वितरण प्रणाली व्यवस्थित गर्न आवश्यक रहेको प्रवक्ता ठाकुरले बताए ।
उद्योगीहरूसँग भ्याट बिल र गाडी ट्र्याकिङ प्रणाली भएकाले कुन विक्रेताले कति ग्यास प्राप्त गर्यो र कसलाई बिक्री गर्यो भन्ने अनुगमन गरिने उनले जानकारी दिए ।
नयाँ व्यवस्था कार्यान्वयन भएपछि बजारमा देखिएको कृत्रिम अभाव हट्ने र उपभोक्ताले सहज रूपमा ग्यास पाउने निगमको भनाइ छ ।