देशको आर्थिक तथा वित्तीय स्थिति के छ ? पूर्णपाठसहित
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्ष २०८२/०८३ को सात महिनाको तथ्याङ्कका आधारमा आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । तथ्याङ्क अनुसार माघ महिनामा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ । त्यस्तै, कुल विदेशी विनिमय सञ्चिति रु.३३०२ अर्ब ६६ करोड रहेको छ भने अमेरिकी डलरमा उक्त सञ्चिति २२ अर्ब ७६ करोड पुगेको छ । यस्तो सञ्चिति १८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
केन्द्रीय बैंकका अनुसार माघ मसान्तसम्म चालु खाता रु.४९३ अर्ब ७८ करोड र शोधनान्तर रु.५७२ अर्ब ७३ करोड बचतमा रहेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३९.८ प्रतिशतले र अमेरिकी डलरमा ३३.० प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको माघ महिनाको विप्रेषण आप्रवाह रु.१९८ अर्ब ८ करोड रहेको छ ।
सात महिनामा निर्यात ३२.२ प्रतिशतले र आयात १३.६ प्रतिशतले बढेको छ । यता, सरकारको खर्च रु.८०१ अर्ब ३७ करोड र राजस्व परिचालन रु.६६५ अर्ब २ करोड रहेको देखिन्छ ।
विस्तृत मुद्राप्रदाय ५.९ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन ६.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ६.८ प्रतिशत रहेको छ ।
बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत र ९१ दिन अवधि भएको ट्रेजरी बिलको भारित औसत ब्याजदर २.४५ प्रतिशत रहेको छ ।
वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत र कर्जाको भारित औसत व्याजदर ७.० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्याङ्क छ ।
हेर्नुस् पूर्णपाठसहित
मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
२०८२ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ४.९५ प्रतिशत र ३.७४ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२÷८३ को सात महिनाको औसत मुद्रास्फीति १.९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति ४.८६ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६३ प्रतिशत, घ्यू तथा तेलको ७.६१ प्रतिशत, र फलफूलको ७.४१ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उप समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१९ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको २.९७ प्रतिशत र मरमसलाको २.६१ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २१.९८ प्रतिशत, शिक्षाको ७.४६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२८ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ । सञ्चार उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.०८ प्रतिशतले घटेको छ ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २.५२ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.५१ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५३ प्रतिशत, मधेश प्रदेशको ५.१४ प्रतिशत, बागमती प्रदेशको ३.१० प्रतिशत, गण्डकी प्रदेशको २.४२ प्रतिशत, लुम्बिनी प्रदेशको ३.२९ प्रतिशत, कर्णाली प्रदेशको १.६२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको १.६४ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.४८ प्रतिशत, तराईको ३.६६ प्रतिशत, पहाडको २.६८ प्रतिशत र हिमालको २.५८ प्रतिशत रहेको छ ।
थोक मुद्रास्फीति
२०८२ माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ६.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.४७ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.७२ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ९.८३ प्रतिशत र ३.२१ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क २.०४ प्रतिशतले बढेको छ ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति
२०८२ माघ महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत रहेको छ । सन् २०२६ जनवरी महिनामा भारतमा यस्तो मुद्रास्फीति २.७५ प्रतिशत रहेको छ ।
बाह्य क्षेत्र
वैदेशिक व्यापार
आर्थिक वर्ष २०८२/८३ को सात महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु.१६८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को सात महिनामा कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई रु.११२३ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.५ प्रतिशत, २२.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, दाल, एम.एस.विलेट, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को सात महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले वृद्धि भई रु.९५५ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १५.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१०३ अर्ब ९२ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१०३ अर्ब ९४ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुकोे अनुपात क्रमशः ६९.७ प्रतिशत, २९.३ प्रतिशत र १.० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ६१.८ प्रतिशत, ३७.४ प्रतिशत र ०.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३७.० प्रतिशत, ५३.८ प्रतिशत र ९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ३९.९ प्रतिशत, ५१.२ प्रतिशत र ८.९ प्रतिशत रहेको थियो ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०८२ माघ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा ९ग्लष्त ख्बगिभ क्ष्लमभह० २.१ प्रतिशतले र आयात मूल्य सूचकाङ्क ०.६ प्रतिशतले वृद्धि भएको छ । २०८२ माघ महिनामा व्यापारको सर्त १.४ प्रतिशतले वृद्धि भएको छ ।
सेवा
समीक्षा अवधिमा खुद सेवा आय रु.५० अर्ब १६ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.३६ अर्ब १७ करोडले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २.६ प्रतिशतले कमी आई रु.४७ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.४९ अर्ब २८ करोड रहेको थियो ।
समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५.१ प्रतिशतले वृद्धि भई रु.१२१ अर्ब २७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फ व्यय रु.७७ अर्ब ५७ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.११५ अर्ब ३४ करोड रहेकोमा शिक्षातर्फको व्यय रु.६४ अर्ब १० करोड रहेको थियो ।
विप्रेषण आप्रवाह
आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९.८ प्रतिशतले वृद्धि भई रु.१२६१ अर्ब १ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.५ प्रतिशतले बढेको थियो । २०८२ माघ महिनामा विप्रेषण आप्रवाह रु. १९८ अर्ब ८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. १३७ अर्ब ५० करोड रहेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भई ८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. १३८४ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.९८६ अर्ब ३४ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २,४५,१५३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २,२७,४२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः २,७४,६२२ र १,९०,८८६ रहेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु.४९३ अर्ब ७८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१८४ अर्ब १४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ३७ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ३ अर्ब ४७ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.११ अर्ब ४३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. ५ अर्ब ८३ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.१० अर्ब २२ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.७ अर्ब ४३ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.५७२ अर्ब ७३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२८४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ११ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ४ अर्ब ३ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले वृद्धि भई २०८२ माघ मसान्तमा रु.३३०२ अर्ब ६६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ माघ मसान्तमा १६.७ प्रतिशतले वृद्धि भई २२ अर्ब ७६ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ माघ मसान्तमा २१.२ प्रतिशतले वृद्धि भई रु.२९२६ अर्ब ९९ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ माघ मसान्तमा ४२.८ प्रतिशतले वद्धि भई रु.३७५ अर्ब ६७ करोड कायम भएको छ । २०८२ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.३ महिनाको वस्तु आयात र १८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५४.१ प्रतिशत, १५०.२ प्रतिशत र ३९.७ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा २०८१ माघ मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७५.३८ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ माघ मसान्तमा ७.४ प्रतिशतले कमी आई अमेरिकी डलर ६९.८० कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ माघ मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २८९१.५० रहेकोमा २०८२ माघ मसान्तमा ७४.४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५०४३.१५ पुगेको छ ।
विनिमय दर
२०८२ असार मसान्तको तुलनामा २०८२ माघ मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.४ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ३.८ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ माघ मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१४४.८३ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर रु.१३७.० रहेको थियो ।
सरकारी वित्त स्थिति
नेपाल सरकार
खर्च तथा राजस्व
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को सात महिनासम्ममा नेपाल सरकारको कुल खर्च रु.८०१ अर्ब ३७ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.५६२ अर्ब ३७ करोड, पुँजीगत खर्च रु.६३ अर्ब ७३ करोड र वित्तीय व्यवस्था खर्च रु.१७५ अर्ब २७ करोड रहेको छ ।
नेपाल सरकारको नगद मौज्दात
समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.६६५ अर्ब २ करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु.५९९ अर्ब ३१ करोड र गैरकर राजस्व रु.६५ अर्ब ७१ करोड परिचालन भएको छ ।
प्रदेश सरकार
खर्च तथा राजस्व
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.४८ अर्ब ५१ करोड र स्रोत परिचालन रु.१०९ अर्ब ८९ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.८२ अर्ब ९१ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.२६ अर्ब ५१ करोड रहेको छ ।
मौद्रिक स्थिति
मुद्राप्रदाय
आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विस्तृत मुद्राप्रदाय ५.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा विस्तृत मुद्राप्रदाय १४.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.५७२ अर्ब ७३ करोड (२१.५ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२८४ अर्ब ४१ करोड (१४.३ प्रतिशत) ले बढेको थियो ।
समीक्षा अवधिमा सञ्चित मुद्रा ३.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ३.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा सञ्चित मुद्रा ८.० प्रतिशतले बढेको छ ।
मौद्रिक क्षेत्रको आन्तरिक दाबी
आर्थिक वर्ष २०८२/८३ को सात महिनामा मौद्रिक क्षेत्रको कुल आन्तरिक दाबी ०.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो दाबी १.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा यस्तो दाबी ४.२ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी २६.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी २०.५ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा यस्तो दाबी १२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ६.० प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.७ प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.० प्रतिशत (रु.४३३ अर्ब ७१ करोड) ले वृद्धि भई रु.७६९७ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशत (रु.२४५ अर्ब ३४ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, ४२.८ प्रतिशत र ४१.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत रहेको थियो ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.० प्रतिशत (रु.२२१ अर्ब ८४ करोड) ले बढी रु.५७१९ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत (रु.२८३ अर्ब ४६ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा ६.८ प्रतिशतले बढेको छ ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६३.८ प्रतिशत र ३६.२ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.२ प्रतिशत, विकास बैंकहरूकोे ३.० प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.८ प्रतिशतले बढेको छ ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.० प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४.४ प्रतिशत र ६५.१ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को सात महिनामामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ४.८ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १.१ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ११.० प्रतिशत, हायर पर्चेज कर्जा ९.३ प्रतिशत, आवधिक कर्जा ३.१ प्रतिशत, रियल स्टेट कर्जा व्यक्तिगत आवासीय घर कर्जासमेत) २.५ प्रतिशत, क्यास क्रेडिट कर्र्जा २.१ प्रतिशत र माग तथा अन्य चालु पुँजी कर्जा १.८ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.४ प्रतिशतले घटेको छ ।
तरलता व्यवस्थापन
समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.१६०६ अर्ब ९५ करोड, स्थायी निक्षेप सुविधामार्फत रु.२९,७९२ अर्ब ४० करोड र नेपाल राष्ट्र बैंक ऋणपत्रमार्फत रु.२०० अर्ब गरी कुल रु.३१,५९९ अर्ब ३५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन र ओभरनाइट तरलता सुविधामार्फत रु.१२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुद रु.३१,५८६ अर्ब ८५ करोड बराबरको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद रु.१४,८५८ अर्ब ६५ करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर ३ अर्ब ९६ करोड खुद खरिद गरी रु.५६४ अर्ब ४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ८७ करोड खुद खरिद गरी रु.३८७ अर्ब ५६ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब २६ करोड बिक्री गरी रु.३२१ अर्ब ९६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब २४ करोड बिक्री गरी रु.३०३ अर्ब ७० करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
अन्तरबैंक कारोबार
आर्थिक वर्ष २०८२र८३ को सात महिनामा वाणिज्य बैंकहरूको रु.५५९ अर्ब ८६ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक)को रु.७६ अर्ब ३६ करोड गरी कुल रु.६३६ अर्ब २२ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको रु.९३७ अर्ब ८१ करोड र अन्य वित्तीय संस्थाहरूको रु.१०२ अर्ब २० करोड गरी कुल रु.१०४० अर्ब १ करोडको अन्तर बैंक कारोबार भएको थियो ।
ब्याजदर
२०८१ माघ मसान्तमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.८६ प्रतिशत रहेकोमा २०८२ माघ मसान्तमा उक्तदर २.४५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २०८१ माघ मसान्तमा ३.०० प्रतिशत रहेकोमा २०८२ माघ मसान्तमा २.७५ प्रतिशत रहेको छ ।
२०८२ माघ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.१२ प्रतिशत, विकास बैंकहरूको ७.१९ प्रतिशत र वित्त कम्पनीहरूको ७.८९ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.४६ प्रतिशत, विकास बैंकहरूको ८.५२ प्रतिशत र वित्त कम्पनीहरूको ९.३९ प्रतिशत रहेको थियो ।
२०८२ माघ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५१ प्रतिशत, विकास बैंकहरूको ३.९७ प्रतिशत र वित्त कम्पनीहरूको ५.०१ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.६२ प्रतिशत, विकास बैंकहरूको ५.४१ प्रतिशत र वित्त कम्पनीहरूको ६.४७ प्रतिशत रहेको थियो । त्यसैगरी, २०८२ माघ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.०० प्रतिशत, विकास बैंकहरूको ८.३० प्रतिशत र वित्त कम्पनीहरूको ९.५६ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.५५ प्रतिशत, विकास बैंकहरूको ९.९० प्रतिशत र वित्त कम्पनीहरूको १०.८८ प्रतिशत रहेको थियो ।
वित्तीय पहुँच
२०८२ माघ मसान्तमा यस बैंकबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरूले इजाजतपत्रप्राप्त गरी सञ्चालनमा रहेका छन् । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११,५२६ रहेकोमा २०८२ माघ मसान्तमा ११,४९० रहेको छ ।
२०८२ माघ मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताहरूको सङ्ख्या ६ करोड १८ लाख ५१ हजार २३० रहेको छ भने कर्जा खाताहरूको सङ्ख्या २० लाख ३४ हजार ९४६ रहेको छ ।
वित्तीय सबलता सूचक
२०८२ माघ मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिको अनुपात क्रमशः ९.६० प्रतिशत र १२.६१ प्रतिशत रहेको छ । त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३४.७६ प्रतिशत रहेको छ । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.४२ प्रतिशत रहेको छ ।
विद्युतीय कारोबार
२०८२ माघमा डेबिट कार्ड प्रयोगकर्ताहरूले ९८ लाख कारोबारमार्फत रु.७५ अर्ब ६० करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ६ करोड ७३ लाख कारोबारमार्पmत रु ५५८ अर्ब ५० करोड कारोबार भएको छ । क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड ६२ लाख कारोबारमार्पmत रु १२५ अर्ब २१ करोड कारोबार भएको छ ।
पुँजी बजार
२०८१ माघ मसान्तमा २६८५.७३ रहेको नेप्से सूचकाङ्क २०८२ माघ मसान्तमा २६७१.०७ कायम भएको छ ।
२०८२ माघ मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४४८४ अर्ब ७९ करोड कायम भएकोे छ । २०८१ माघ मसान्तमा बजार पुँजीकरण रु.४४५८ अर्ब ५२ करोड रहेको थियो । २०८१ को माघ मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७८.०९ प्रतिशत रहेकोमा २०८२ माघमा ७३.४३ प्रतिशत रहेको छ ।
२०८२ माघ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८४ रहेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३२ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ माघमा सूचीकृत कम्पनीहरूको संख्या २६८ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५१.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १६.० प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ७.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.७ प्रतिशत, होटेलको हिस्सा ३.२ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ माघ मसान्तमा सूचीकृत ९ अर्ब २३ करोड सेयरको चुक्ता मूल्य रु.९०८ अर्ब ८३ करोड रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को सात महिनामा रु.२१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद सेयर, रु.७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, रु.७ अर्ब ४९ करोड बराबरको बोनस सेयर, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.९२ करोड ५० लाख बराबरको एफपीओ र रु.२ करोड २९ लाख बराबरको अन्य गरी कुल रु.५० अर्ब ९४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.१३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, रु.६ अर्ब ६४ करोड बराबरको साधारण सेयर, रु.४ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर, रु.२० करोडको डिबेन्चर र रु. ५ करोडको एफपीओ गरी कुल रु.२४ अर्ब ४२ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।